एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका ४२ जना प्रहरी नियन्त्रणमा

एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका ४२ जना प्रहरी नियन्त्रणमा

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियूका ४२ जना नेता कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ । 

अध्यक्ष सुदेश पराजुली सहित ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अनेरास्ववियूका महासचिव आरती लामाले जानकारी दिइन्। संगठनका अध्यक्ष पराजुली, उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, मेघनाथ चापार्गांइ, मिलन राई, महेश श्रेष्ठ, अशोक थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विरोध प्रर्दशनका क्रममा अनेरास्ववियूका सचिवहरु उत्तर खड्का, मनिषा कार्की र  सङगिता राना मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको लामाले जानकारी दिइन् । 

सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै बुधबार विभिन्न दलका नेता कार्यकर्ता विरोधमा उत्रेका थिए।

नयाँ बानेश्वरमा भएको विरोध प्रर्दशनमा प्रहरीले पानीको फोहराले प्रयोग गरेको थियो। विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही घाइते समेत भएका छन्। 

सोही विरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा विद्यार्थी संगठनका कार्यकर्तालाई  प्रहरीले नियन्त्रणमा लिएको उक्त पार्टीले जनाएको छ।

प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाई अध्यक्ष सुसन पुलामी मगर सहित दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।