सुरक्षा व्यवस्थामा कडाइ गरिएकोले कैलालीमा अप्रिय घटनाहरू घटेनन् : एसपी अधिकारी

सुरक्षा व्यवस्थामा कडाइ गरिएकोले कैलालीमा अप्रिय घटनाहरू घटेनन् : एसपी अधिकारी

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले कैलाली जिल्ला भर सुरक्षा व्यवस्थामा कडाइ गरिएकोले अप्रिय घटनाहरू नघटेको बताएका छन् । 

बुधबार जिल्लाभर प्रमुख जिल्ला अधिकारी किरण थापाको संयोजकत्वमा सबै सुरक्षा निकायले समन्वयात्मक भूमिकामा काम गरेकोले कुनै अप्रिय घटना नघटेको एसपी अधिकारीको भनाई छ । 

यसै क्रममा आजै बिहानको समयमा जिल्लाको लम्की चुहा नगरपालिका-३ स्थित धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरी निरिक्षक अधिकारीले बताए । ‘प्रेसर कुकरमा टेपले बाँधेको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो । हामीले नेपाली सेनाको सहयोगमा चेकजाँच गर्दा डराउनलाई राखिएको हो भन्ने अनुमान गर्न सकिन्छ । यद्धपी कसले राखेको हो भन्ने पत्ता लागेको छैन ।, उनले भने ।

यस्तै, सुदूरपश्चिम प्रदेशबाट पूर्व जाने गाडीहरू नचलेको भए पनि लामो दुरीका पूर्वबाट प्रदेश भित्रिएका र विशेष गरी कैलाली भित्रिएका सबै गाडीहरू सकुशल गन्तव्यमा पुगाइएको जनाइएको छ । भने दिनभर नै तिन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा नै रहेका थिए ।  

बुधबार सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्ने निर्णय गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित पाँच वामपन्थी पार्टीहरूले नेपाल बन्दको घोषणा गरेका थिए । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन वैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्ण जित बुढाथोकीको नेकपा माओवादी केन्द्र लगायतले आज गरेको नेपाल बन्द साँझ ५ बजेबाट खुलेको छ ।