कांग्रेस कैलाली र अछामको अधिवेशन फेरि सर्‍यो

कांग्रेस कैलाली र अछामको अधिवेशन फेरि सर्‍यो

नेपाली कांग्रेसका १६ जिल्लामा पूर्वनिर्धारित गरिएको जिल्ला अधिवेशनको मिति संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार फागुन १३ गतेका लागि तोकिएको निर्वाचन फागुन १५ गतेका लागि सारिएको सचिव केशव रिजालले जानकारी दिएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वबाट अनुरोध भइ आएपछि कार्यतालिका र मिति संशोधन गर्ने निर्णय केन्द्रीय निर्वाचन समितिले गरेको हो।

नेपाली कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन अझै हुन सकेको छैन।

निर्वाचन समितिका अनुसार १६ जिल्लाबाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन भने निर्धारित मितिभित्र नै हुने भएको छ। तिनको निर्वाचन फागुन १० गते तोकिएको छ।