राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ७४ विद्यालय छनोट

बैतडी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ७४ विद्यालय छनोट भएका छन्। चालु आर्थिक वर्षमा सिफारिस भएका ३५६ विद्यालयमध्ये ७४ सार्वजनिक विद्यालय छनोट भएका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए।

छानिएका विद्यालयमध्ये आइसिटी ल्याब व्यवस्थापन  ३३, दुई कोठे भवन ३२, चारकोठे भवन ८ र एक प्राविधिक ल्याब  निर्माण गरिनेछन्। जसमध्ये पाटन नगरपालिकामा सबैभन्दा बढी विद्यालय भवन निर्माण हुने भएका छन्।

दोगडाकेदार गाउँपालिकामा दुई विद्यालयको चारकोठे भवन, चार विद्यालयको दुईकोठे भवन र तीन विद्यालयमा आइसिटी व्यवस्थापन तथा सिगास गाउँपालिकाको सात विद्यालयमा दुईकोठे भवन र दुई विद्यालयमा आइसिटी ल्याबको व्यवस्था गरिने उक्त इकाईले जनाएको छ।

पुर्चौडी नगरपालिकाको एक विद्यालयको चारकोठे भवन, एक विद्यालयको दुईकोठे भवन र छ विद्यालयमा आइसिटी ल्याबको व्यवस्था गरिने भएको छ। दशरथचन्द नगरपालिकाको एक विद्यालयमा चारकोठे भवन, दुई विद्यालयमा दुईकोठे भवन, चार विद्यालयमा आइसिटीको व्यवस्था गरिने भएको छ।

मेलौली नगरपालिकाको सात विद्यालयमा चारकोठे र दुईकोठे भवन, चारआइसिटी ल्याब, एक प्राविधिक ल्याब बनाइने भएको छ भने डिलाशैनी गाउँपालिकाको एक विद्यालयमा चार कोठे भवन, दई विद्यालयमा दुई कोठे भवन र तीन विद्यालयमा आइसिटी ल्याब निर्माण गरिने भएको भने शिवनाथ गाउँपालिकाको पाँच विद्यालयमा दुईकोठे भवन र तीन आइसिटी ल्याब निर्माण गरिने जनाइएको छ।

यस्तै पञ्चेश्वर गाउँपालिकाको दुई विद्यालयमा चारकोठे,  दुई कोठे र एक आइसिटी ल्याब बनाइने भएको छ भने सुर्नया गाउँपालिकामा दुईकोठे भवनका लागि दुई र आइसिटी ल्याबका लागि तीन विद्यालय छनोटमा परेका छन्।

चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख र  दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याबका लागि रु ६ लाख ५० हजार र एउटा ल्याबका  लागि रु १० लाख छुट्याइएको छ। 

उक्त कार्यक्रमबाट चारकोठे भवन निर्माणका लागि आफ्नो विद्यालय छनोट भएकामा खोचलेकस्थित सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले खुसी व्यक्त गरे। उनले भने, “भवन अभावले एउटै कक्षामा एकसय बढी विद्यार्थी राखेर पठनपाठन गर्नुपर्ने अवस्था थियो, चारकोठे भवन परेको छ, भवन निर्माणपश्चात् विद्यार्थीको पठनपाठनमा सहज हुनेछ।”

जिल्लाका  १० वटै स्थानीय तहबाट ३५६ विद्यालय सिफारिस गरिएका थिए। उक्त कार्यक्रमअन्तर्गत गतवर्ष २०८ विद्यालय सिफारिस गरिएकामा १३० विद्यालय छनोट भएका थिए। सरकारले देशभर शैक्षिक सुधार गर्न उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको त्यसका लागि  रु सात अर्ब ८५ करोड ५१ लाख छुट्याइएको थियो।