संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो : मन्त्री जोशी

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले संविधानको पूर्ण कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी भएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ का अवसरमा शुभकामना दिँदै मन्त्री जोशीले यस्तो बताएकी हुन् ।

'वि.सं. २००७ सालदेखि हालसम्म प्राप्त उपलब्धिको रक्षा गरी यो व्यवस्था कार्यान्वयनमा देखिएका जटिलता असजिला पक्षहरुको समीक्षा गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एवं ष्ट्रिय स्वाधीनताका सवालमा अविभाज्य एकताको सुत्रमा बाँधिएर नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षा विकास र सम्बर्द्धन गर्न आजको दिवसले हामी सबैलाई थप जवाफदेही बनाओस् प्रेरणा देवस्,' उनले भनिन् ।

'पटक-पटकका राजनीतिक उपलब्धि र ती उपलब्धिहरुलाई संस्थागत गर्ने सवालमा हुने गरेका त्रुटि र कमजोरीहरुका कारण मुलुक लामो समयसम्म संक्रमणमा रह्यो संविधानसभा मार्फत निर्मित नेपालको संविधान २०७२ ले मुलभूतरुपमा परिवर्तनका सबै खालका अपेक्षा पूरागर्ने संवैधानिक व्यवस्था गरेको छ,' मन्त्री जोशीले भनिन्,'संविधानको पूर्ण कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।' 

मुलुकको शासन व्यवस्था सार्वभौम नेपाली जनताले चुनेका प्रतिनिधि मार्फत सञ्चालन हुने गरी शासन र सत्तामा वंश परम्पराको अन्त्य भएको थियो । 'रुप' मा शासन व्यवस्थाको नाम परिवर्तन भएसँगै 'सार' मा नेपाली जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सबै प्रकारका विभेद, उत्पीडन तथा असमानताको अन्त्य र विकास एवं समृद्धीको चाहना पूरा गरी न्याय समानतापूर्ण र सुखी जीवनको अभिलाषा पूरागर्नु राजनीतिक आन्दोलनको उद्देश्य रहेको मन्त्री जोशीद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

साथै मन्त्री जोशीले  राष्ट्रिय प्रजातन्त्र दिवसको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेश र देशवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेकी छन् ।