संघिय सरकारका मनलाग्दी कामले संघियताको आवश्यकता छैन भनेर चर्चा सुरु भयो : मुख्यमन्त्री भट्ट

संघिय सरकारका मनलाग्दी कामले संघियताको आवश्यकता छैन भनेर चर्चा सुरु भयो : मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले मनलाग्दी काम गर्दा संघियताको आवश्यकता छैन भन्ने चर्चा सुरु भएको बताएका छन् । आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले संघियताको लागु भएको पाँच वर्ष नबित्दै आवश्यकता छैन भनेर चर्चा चल्नु दुखद रहेको औँल्याएका हुन् । 

मुख्यमन्त्री भट्टले सिमानाहरू मिचिएको स्मरण गर्दै त्यसमा पनि हाम्रो देशले कूटनीतिक रूपबाट पहल गरेर हाम्रा सिमानाहरू फिर्ता ल्याउनुपर्ने, सिमानाहरूको रक्षा गर्नु पर्ने दायित्व बनेको बताए । आज नागरिकले सरकारबाट तीव्र रूपमा विकास खोजी रहेको उनको भनाई थियो  । “आज जनताले सजिलो तरिकाले सेवा सुविधा चाहन्छ । संविधानले दिएको अधिकारलाई प्रयोग गर्न चाहन्छ । तर कता-कता अझै पनि त्यो कुरालाई अगाडि बढाउनमा कन्जुसलाई गरिराखेका छौँ । या नबुझेर गरिराखेका छौँ । त्यो कुरा पनि जनताले महसुस गरेको छ । जब हामीले नागरिकले चाहेको कुरा समयमा दिन सक्दैनौँ तब एउटा प्रकारको असन्तुष्टि पैदा हुन्छ । नागरिकमा हामीले यती संघर्ष गरेर पनि के पायौँ भन्ने स्थिति बन्छ । त्यस कारण म सबैलाई अहिलेको आवश्यकता अनुसार आफूलाई रूपान्तरण हुन आग्रह गर्दछु ।” उनले भने । 
कानुनी जटिलताहरूलाई सहज बनाउँदै विकास निर्माणका कार्यहरू लाई गति दिन आग्रह गर्दै मुख्यमन्त्री भट्टले नागरिकको सेवा गर्ने सम्पूर्ण कार्यालयहरूले दिने सेवाहरू अझ पनि सुधार ल्याउन जरुरी रहेको बताए । संघियतामा गएको चार वर्ष बितेको बताउँदै उनले अहिले प्रहरी समायोजन, संघिय निजामती ऐन नआएकाले कर्मचारी भर्न गर्न अप्ठ्यारो भएको भनाई छ । 

अहिले पनि एकात्मक सोचले काम गरेको औंलाउँदै मुख्यमन्त्री भट्टले त्यसको  अन्य नगरी आम नागरीलाई सेवा दिन नसकिने बताए । “अहिले हामीले तिन ओटा सरकारका एकल अधिकार त हामीले प्रयोग गरिराखेका छौँ । तर साझा अभिकार लाई प्रयोग गर्न नसकेको कारणले संघिय सरकारले यो कुरामा सुस्त भई अगाडी नबढाएकोले केही समस्याहरू सिर्जना भएका छन् ।” उनले भने । 

मुख्यमन्त्री भट्टले अहिले प्रदेश सरकारका मन्त्रालयहरूमा कतिखेर प्रशासकीय प्रमुख फेरिन्छन् र कति बेला आउने जाने गर्छन् थाहा नहुने गरेको बताए । “संघिय सरकारको मन लाग्यो भने राखिदिने, मन लाग्यो भने बदली दिने, कसैलाई वषौं सम्म पनि सुविधामा लगेर नजाने, कसैलाई निर्णय गरेर पनि पठाउन नसक्ने जुन प्रकारको एउटा लाचारी पना देखिएको छ ।  यो सबैभन्दा कमजोर छ । यसले गर्दा संघियता कमजोर हुने र संघियता प्रति एउटा प्रश्न उठिराखेको छ  । यसको कार्यकाल पुरा नहुँदै संघियताको आवश्यकता छैन भनेर प्रश्न उठ्न थालेका छन् । चर्चा हुन थालेको छ । प्रचार सुरु भएका छन् । यो हामी सबैले मन पराएको रोजेको व्यवस्थालाई, सबैभन्दा राम्रो संविधान लाई सफल पार्नु नै नेपाललाई सफल पार्नु हो । यदि यसो गर्न नसके जनतामा निराशा पैदा हुने र जनताले अर्को बाटो रोज्न बाध्य हुने छन् ।” उनले भने । 

प्राकृतिक श्रोत हुँदाहुँदै पनि साधनहरू नभएका कारण प्राकृतिक श्रोतलाई परिचालन गर्न नसकेको उनको भनाई छ । सुदूरपश्चिम प्रदेश विगतमा विकासमा पछाडि परेको र अहिले पनि पछाडि रहेको बताउँदै ७२ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा मुख्यमन्त्री भट्टले साझा अधिकारका विषयहरू र गर्नुपर्ने कामहरूलाई छिटो भन्दा छिटो गर्न संघिय सरकारलाई आग्रह गरेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारले कृषि भौतिक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न काम गरेको र सुदूरपश्चिम प्रदेशको स्थिर सरकारले अझै जनभावना अनुसार तीव्र गतिमा काम गर्ने मुख्यमन्त्री भट्टको दाबी छ ।