कुशल भुर्तेलको शतक, बने नेपालका लागि शतक बनाउने तेस्रो खेलाडी !

कुशल भुर्तेलको शतक, बने नेपालका लागि शतक बनाउने तेस्रो खेलाडी !

कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी भएका छन् । कुशलले शनिबार फिलिपिन्सविरूद्ध ट्वान्टी–२० विश्वकप छनोटमा एक सय रनको इनिङ्स खेले । उनले ५७ बलमै सतक पूरा गरेका हुन् ।

यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । पारसले सिंगापुरमा २०१९ मा त्रिकोणात्मक शृंखलामा अविजित १ सय ६ रन बनाएका थिए । त्यस्तै ज्ञानेन्द्रले २०१९ मा नेपालमा दक्षिण एसियाली खेलकुदमा भुटानविरूद्ध १ सय ७ रन बनाएका थिए ।

अप्रिलमा नेदरल्यान्ड्सविरूद्ध त्रिकोणात्मक शृंखलको फाइनलमा ७७ रन बनाउनु कुशलको ट्वान्टी–२० मा यसअघिको उच्च स्कोर थियो ।

उनले सोही शृंखलाबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । झन्डै १० महिनाको अवधिमा कुशलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ४ अर्धशतक प्रहार गरिसकेका छन् । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धसतक बनाउनेमा पारससँगैं शीर्ष स्थानमा छन् ।