धनगढी मेयर एलपीएल–६ हिमालयन ह्वाइट हाउसको विजयी सुरुवात

धनगढी मेयर एलपीएल–६ हिमालयन ह्वाइट हाउसको विजयी सुरुवात

धनगढी । धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले अत्तरियाको एभरेस्ट एकेडेमीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । हिमालयनले आफ्नो पहिलो खेलमै एभरेस्टलाई ८१ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो । १ सय ९२ रनको विजयी लक्ष पछ्याएको एभरेस्टले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १० रन मात्रै बनाउन सक्यो । एभरेस्टका सन्दीप विष्टले ३० बलमा २९, योगेश भाटले १६ बलमा १९ र दीपक रोकायाले १५ बलमा १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक रहेन ।

हिमालयनको बलिङ तर्फ सन्दीप शाहीले ३, राहुल भण्डारी र सतिस यादवले २÷२, दीप बोहरा, नारायण जोशी र अनुप कुँवरले १÷१ विकेट लिए । पहिलो इनिङमा ह्वाइट हाउसका लागि वसन्त सिंह कार्कीले ७ चौका र ७ छक्काको मद्दतले ४९ बलमा सर्वाधिक ९२ रनको सानदार पारी खेले ।

त्यस्तै टिमका लागि दीपक बोहराले ३५ बलमा ४३ र राहुल भण्डारीले १२ बलमा १२ रनको योगदान गरे । वसन्त र दीपकले १ सय ३२ रनको साझेदारी पारी खेले । एभरेस्टको बलिङमा धर्मराज जोशी र मुकेश ओझाले ४ ओभर बलिङ गर्दै समान ३÷३ विकेट लिए ।

हिमालयनले आफ्नो पहिलो खेलमा जित निकाल्दा एभरेस्टले पहिलो हार ब्यहोर्यो । खेलको प्लेयर अफ दी म्याच हिमालयन ह्वाइट हाउसका वसन्त कार्की घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए । गेम चेन्जर अवार्ड राहुल भण्डारीले पाए । आजै दोस्रो खेलमा गुरुकुल र विद्याभुषण प्रतिस्पर्धा गर्दै छन् । दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।