धनगढी मेयर एलपिएल-६ : हिमालयन ह्वाइट हाउस र विद्या भूषण विजयी

धनगढी मेयर एलपिएल-६ : हिमालयन ह्वाइट हाउस र विद्या भूषण विजयी

धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका दुई खेलमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् ।

आजको पहिलो खेलमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

१ सय ७४ रनको विजयी लक्ष पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन् । उसले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहरो अङ्क छुन सकेनन् ।

शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्त्वपूर्ण ४ विकेट लिए । सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १/१ विकेट लिए । यस अघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए ।

दीपक बोहरा (सिनियर)ले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए । अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए । हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए । शारदाका लागि बलिङ तर्फ मिलन बोहरा र अर्जुन सिंह साउदे समान २÷२ तथा गणेश बिटालु, प्रेम थापा र

विकास सुनारले १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए । सर्वाधिक छक्काको अवार्ड भने दीपक बोहरा सिनियर, राहुल भण्डारी, वसन्त कार्की र अनुप कुँवरले पाए ।

आजै भएको दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । १ सय ४४ रनको विजयी लक्ष पछ्याएको लिटल फ्लावरका कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

उसले १७।६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो । टिमका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाएर आउट भए । बलिङ तर्फ विद्या भूषणका कप्तान शेर मल्लले ४, प्रदीप चन्दले ३, अर्जुन साउद, वीरेन्द्र नाथ र नरेन साउदले १/१ विकेट लिए ।

यस अघि विद्या भूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र कप्तान शेर मल्ल १० रन बनाएर आउट भए । बलिङ तर्फ लिटल फ्लावरका पुष्कर बडुले कसिलो बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिएर १९ रन दिए ।

प्रकाश जैशीले २, सुवास ऐर र नरेन भट्टले १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए । सर्वाधिक छक्काको अवार्ड प्रदीप चन्द र वीरेन्द्र नाथले पाउँदा गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले नै पाए ।

प्रतियोगिता अन्तरगत भोलि सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्नेछन् । लिटल फ्लावरको जारी संस्करणको उपाधि उचाल्ने टिमले १ लाख ५० हजार र उप विजेताले ७५ हजार पुरस्कार पाउनेछन् ।