विश्वकप छनोट: आज क्यानडाविरुद्ध खेल्दै नेपाल

विश्वकप छनोट: आज क्यानडाविरुद्ध खेल्दै नेपाल

ओमानमा जारी आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटमा आज नेपालले क्यानडाविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल अपरान्ह पौने चार बजेदेखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

आजको खेलले नै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’मा रहेको नेपालले यसअघिको दुई खेलमा लगातार जित हात पारेको छ । पहिलोमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

क्यानडालाई हराए नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाउने छ । झिनो अन्तरले पराजित भएमा पनि नेपालले सेमिफाइनलको यात्रा गर्ने पक्का जस्तै छ । क्यानडाले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

साथै, उसले ओमान र फिलिपिन्सबीचको नतिजाको पनि भर पर्नुपर्ने हुन्छ । क्यानडाले पहिलो खेलमा फिलिपिन्सलाई ११८ रनले हराएको थियो । दोस्रो खेलमा भने ऊ ओमानसँग ९ विकेटले पराजित भयो । 

समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने मौका पाउने छन् । सेमिफाइनल जित्ने दुई टोली यही वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।