राजमो सुदूरपश्चिमका नव निर्वाचित अध्यक्ष नन्दराज भट्टद्वारा ७ बुँदे निर्णय सार्वजनिक

राजमो सुदूरपश्चिमका नव निर्वाचित अध्यक्ष नन्दराज भट्टद्वारा ७ बुँदे निर्णय सार्वजनिक

धनगढी । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आफ्नो प्रथम सम्मेलनले गरेका निर्णय सार्वजनिक गरेको छ । आज सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले ७ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

यही फागुन ७ गते कैलालीको धनगढीमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष नन्दराज भट्टको अध्यक्षतामा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको थियो । भने सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महा-सचिव मनोज भट्टले गरेको राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।

सम्मेलनको सफलताको शुभकामना दिन नेकपा विप्लव पक्षका केन्द्रीय सदस्य ओमप्रकाश पुन, नेकपा (माले) का परेक रावल, नेकपा (मसाल) का कैलाली प्रवक्ता  मिलन शाही, राजमो सम्बद्ध जन वर्गीय सङ्गठनहरूको तर्फबाट अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य तारामणि न्यौपाने र अखिल नेपाल युवक सङ्घका कार्यवाहक अध्यक्ष कृष्णराज पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा नव निर्वाचित प्रदेश अध्यक्ष नन्दराज भट्टले जानकारी दिए । 

सम्मेलनको बन्द सत्रमा राजाराम चौधरी, कुन्ती पाण्डे र चन्द्रदेव बिक रहेको ३ सदस्यीय अध्यक्ष मण्डलले पेस गरेको साङ्गठनिक प्रतिवेदन व्यापक छलफल पछि पारित भएको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । बन्द सत्रमा केन्द्रीय परिपत्र वाचन गरी कार्यान्वयन गर्ने निर्णय समेत गरिएको छ ।

नयाँ प्रदेश समितिको निर्वाचनको लागि तारामणि न्यौपाने, शोभामणि भट्ट र बाबुराम आचार्यको ३ सदस्यीय निर्वाचन मण्डलले ४ स्थान पछि पदपूर्ति गर्ने गरी नन्दराज भट्टको अध्यक्षतामा २५ सदस्यीय प्यानल निर्विरोध निर्वाचित भएको अध्यक्ष भट्टले बताए ।

नव निर्वाचित प्यानलको पहिलो बैठकबाट अध्यक्ष नन्दराज भट्ट, उपाध्यक्ष बेगिमाधव जोशी, सचिव राजाराम चौधरी, कोषाध्यक्ष शेरबहादुर विक र सह-सचिव रामबहादुर कार्की चयन भएका छन् । 

यस्तै, सदस्यहरूमा मञ्जु परियार, जनक कुँवर, खड्क बहादुर राना, कल्पना भण्डारी, दयाराम सन्ज्याल, डबल बोकटी, जगत प्रसाद जोशी, कुन्ती पाण्डेय, अहिमान थापा, चन्द्रदेव विक, वीरेन्द्र भण्डारी, रमा नेपाली, मानबहादुर खड्का, अञ्जना मास्के, मनवीर दमाई र मेनुका खड्का चयन भएका छन् । भने चार सदस्यको स्थान हाललाई रिक्त राखिएको छ । 

यसै गरी, राजमो सुदूरपश्चिम प्रदेश समितिको बैठकले ८ सदस्यीय प्रदेश सल्लाहकार समिति चयन गरेको छ । जसमा शकर सोब (कैलाली), गोपाल खडका (डोटी), लहानु चौधरी (कञ्चनपुर), जयबहादुर मल्ल (कञ्चनपुर), केशव सुबेदी (कञ्चनपुर), र्खिराज पन्त (दार्चुला), राजबहादुर शाही (कैलाली) र रमेश अवस्थी (डोटी) लाई चयन गरिएको छ । भने  नव निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई राजमोका महा-सचिव मनोज भट्टले अबिर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रदेश सम्मेलन भव्यताका साथ सम्पन्न गरेको पनि राजमो सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । 

यसै गरी, राजमोको प्रदेश सम्मेलनले गणतन्त्र, राष्ट्रियताको रक्षा गरौँ लगायतका विभिन्न ७ प्रस्तावहरू पारित गरेको राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिका नव निर्वाचित अध्यक्ष नन्दराज भट्टले जानकारी दिए । 

यी हुन् राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले गरेका ७ निर्णय । 

१. गणतन्त्र, राष्ट्रियताको रक्षा गरौँ ।

२. संघीयता खारेज गरौँ ।

३. कालापानीबाट भारतीय सेना फिर्ता गर ।

४. कालापानी क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरी भारतले बनाइरहेको सडक निर्माण कार्य बन्द गरिनुपर्दछ ।

५. भारतीय पक्षबाट महाकाली नदीमा तुइन काटी हत्या गरिएका जय सिंह धामीका हत्याराहरूलाई कारबाही हुनु पर्दछ । निजको परिवारले क्षतिपूर्ति पाउनु पर्दछ ।

६. कञ्चनपुरका विभिन्न स्थानमा भारतीय पक्षले गरेको नेपालको भूमि अतिक्रमण बन्द हुनु पर्दछ । अतिक्रमित भूमि फिर्ता हुनु पर्दछ । 

७. एमसिसी खारेज हुनु पर्दछ ।