छाउपडी मुक्त जिल्ला बनाउन अभियान शुरु

छाउपडी मुक्त जिल्ला बनाउन अभियान शुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महलिाहरुले ज्यान गुमाउनु परिरहेको छ । प्रदेशका दुर्गम तथा पहाडी जिल्लामा मात्र होइन सुगम कैलाली, कञ्चनपुरका महिलाहरु पनि छाउगोठमै वस्न बाध्य छन् ।

धार्मिक अन्धविस्वासका कारण छाउठगोठमा बस्न पठाइएकाहरु सर्पको डसाई संगै चिसो मौसमा न्यानो बनाउन आगो बाल्दा त्यसको धुवामा निस्सासिएर ज्यान गुमाईरहेका छन् । छाउगोठमा बलात्कृत हुनुपरेको समेत तथ्यांक छ । छाउपडी प्रथाकै कारण कति किशोरीहरुको अकालमै ज्यान जाने गरेको छ ।

विभिन्न सचेतना मुलक अभियान थालिए पनि यो कुप्रथा अझै हट्न सकेको छैन् । यो कुप्रथालाई समाज बाट हटाउन जनप्रतिनिधिहरुले पनि महत्वकाक्षी योजनाहरु बनाएका छन् । छाउपडीको अन्त्यको लागी चेतना विस्तार सँगै कडा कानुन लागु गर्नु पर्ने टिकापुर नगरपालीका उपप्रमुख केशरी बिष्टले  बताइन् ।

तीन महिना भित्र छाउपडी अन्त्य गर्ने योजनाका साथ कैलालीमा अभियान थालिएको छ । सबै भन्दा पहिले छाउपडी मुक्त घोषणा हुने स्थानीय तहलाई पुरष्कृत गरिने जिल्ला समन्वय समिति संयोजक सुर्य बहादुर थापाले बताए ।

छाउपडी सम्वन्धी कानुन नेपालमा प्रयाप्त रहे पनी कार्यान्वयन हुन नसक्दा समस्या यथावत रहेको सरोकारवालाहरु बताउछन् । बिगतमा अस्थिर सरकार र १५ बर्ष सम्म स्थानिय तह खालि रहदा कानुन कार्यान्वयनमा समस्या आएको प्रतिनिधी सभा सदस्य डा. बिनिता पाण्डेले बताइन् । 

सरकारले पनी जर्वजस्ती छाउगोठमा बस्न बाध्य पार्ने उपर कारबाही गर्ने भनेको छ तर पनि हाल सम्म यस्तो अभियोगमा कसै बिरुद्ध उजुरी परेको छैन् । छाउपडी विरूद्घ सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरि यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश जारी गरिसकेको छ ।