नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो

नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो

नेपाल आईसीसी टी-२० वरीयतामा दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औँ स्थानमा छ ।

यसअघि नेपाल १३औँ स्थानमा थियो । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेलको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरीयता खस्किएको हो ।

वरीयतामा नेपाल पछिल्ले दुई साता भित्र तीन स्थान खस्किएको छ । ओमान जानुअघि १२औँ स्थानमा रहेको नेपाल ओमानमा चार देश सम्मिलित टी-२० सिरिजमा एक जित र दुई हार खेपेपछि वरीयतामा एक स्थान खस्किएको थियो । नेपालले सिरिजमा ओमानलाई हराएको थियो । यूएई र आयरल्यान्डसँग पराजित भएको थियो ।

अहिले वरीयतामा नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यूएई १२औँ, जिम्बावे ११औँ, बंगलादेश १०औँ, श्रीलंका नवौँ, अफगानिस्तान आठौँ र वेस्टइन्डिज सातौँ स्थानमा छ । वरीयतामा नेपालपछि नामिबिया १६औँ नेदरल्यान्ड्स १७औँ, ओमान १८औँ, पपुवा न्युगिनी १९औँ र सिंगापुर २०औँ स्थानमा छ ।

भारत शीर्षस्थानमा छ । इङ्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ र अष्ट्रेलिया छैटौँ स्थान छ ।