कञ्चनपुरमा अव्यवस्थित बासिन्दाको जग्गा नापजाँच शुरु

कञ्चनपुरमा अव्यवस्थित बासिन्दाको जग्गा नापजाँच शुरु

कञ्चनपुर । बेदकोट नगरपालिकामा अव्यवस्थित बसोबासीको जग्गा (ऐलानी–पर्ति) नापजाँच आज शुरु भएको छ। नगरपालिकाको वडा नं १ हात्तीथला, वडा नं २ को चाँदनीफाँटा र वडा  नं ४ को विजयनगर (बगुन) क्षेत्रमा एकसाथ जग्गा नापजाँच शुरु गरिएको हो ।

तीनवटै वडामा जिपिएस प्वाइन्ट राख्ने कार्य गरी नापजाँच अगाडि बढाइएको हो । नगर प्रमुख असोक चन्दले जग्गा नापजाँचको जिपिएस प्वाइन्ट राख्ने ठाउँमा पूजा गरी शुभारम्भ गरेका छन् । उनले जग्गा नापजाँच शुभारम्भ गर्दै थप दक्ष जनशक्ति व्यवस्थापन गरी अरु वडामा समेत काम अगाडि बढाइने बताए ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरसँग सहकार्य गरी नगरपालिकाले जग्गा नापजाँचका लागि ५ वटा नापी टोली बनाएर काम थालेको छ। ‘जग्गा नापजाँचपश्चात जग्गाधनी पुर्जा दिनसमेत शुरु गर्छौं,’ नगर प्रमुख चन्दले भने, ‘भूमिहीन दलित, सुकुम्बासीहरूको तथ्याङ्क कम्प्युटरमा प्रविष्टी गर्दै प्रमाणीकरण गरेर जग्गा प्राप्तिका लागि काम अगाडि बढाउँछौं।’

यसका लागि सर्वपक्षीय बैठक बसेर निर्णयसमेत गरिएको उनले बताए । नगर प्रमुख चन्दले केही दिनभित्रै नगरपालिकाका सबै वडामा जग्गा नापजाँच हुने बताए। गत साउनमै अव्यवस्थित बसोवासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको नगरपालिकाले लगत लिएको थियो।

नगरपालिकामा बसोबास गर्दै आएका अव्यवस्थित बसोवासी ८ हजार ७ सय २  जना, सुकुम्बासी १ सय ९३ र भूमिहीन दलित ३ सय १४ जनालाई लगतमा समावेश गरिएको छ। लगतमा समावेश भएकाहरूलाई नगरपालिकाले निस्सा प्रमाणसमेत उपलब्ध गराएको छ।