मलाई गोला बारुद चाहियो, यात्रा होइन : युक्रेनी राष्ट्रपति

मलाई गोला बारुद चाहियो, यात्रा होइन : युक्रेनी राष्ट्रपति

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छाड्न अस्वीकार गर्दै आफ्ना देशवासीलाई दृढ रहन आग्रह गरेका छन् । जेलेन्स्कीले यस्तो महत्त्वपूर्ण लडाइँका वेला आफूले देश नछाड्ने स्पष्ट पारेका हुन् ।

जेलेन्स्कीलाई अमेरिकी सरकारले राजधानी किभ छोडी सुरक्षित स्थलतर्फ पलायन हुन आग्रह गरेको थियो। जेलेन्स्कीले यो अस्वीकार गरेका छन्।

युक्रेनी राष्ट्रपतिले भने,'यहाँ युद्ध भइरहेको छ। मलाई गोला बारुद चाहियो, यात्रा होइन ।' उनले रूससँगको युद्धमा पश्चिमा शक्तिले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । बेलायत‚ अमेरिका जस्ता पश्चिमा मुलुकका साथै नेटो जस्ता सैन्य संगठनले धोका दिएको उनको बुझाइ छ ।

रूसी सेनाले शनिबार बिहान युक्रेनको राजधानी किभमा आक्रमण गरे र शहरमा विस्फोटको आवाज सुनियो।यो भिडन्तमा अहिलेसम्म सयौंको ज्यान गएको बताइएको छ। रूसी सेनाले गरेको आक्रमणबाट किभमा अपार्टमेन्ट भवन, पुल र विद्यालयमा व्यापक क्षति पुगेको छ।