विवेकशील साझा पार्टी: निहित राजनीतिक स्वार्थहरूको कारण एमसिसी पारित

विवेकशील साझा पार्टी: निहित राजनीतिक स्वार्थहरूको कारण एमसिसी पारित

विवेकशील साझा पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसी केही नेताहरूको निहित स्वार्थका कारण सरकारले संसदबाट अनुमोदन गरेको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै साझा पार्टीले राष्ट्र हितलाई मध्यनजर नराखेर निहित राजनीतिक स्वार्थका कारण एमसिसी पास भएको आरोप लगाएको हो ।  

‘विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन् । त्यसैगरी, एमसिसी पनि निहित राजनीतिक स्वार्थहरूको कारण नै पारित भएको छ । संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो,’ साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्रजिम्मेवारपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसिसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालका लागि राम्रो संकेत नभएको पनि विज्ञिप्तमा उल्लेख गरिएको छ । 

साझा पार्टीले आगामी दिनमा सन्धि-सम्झौता हुनुपूर्व पर्याप्त गृहकार्य गर्नुपर्ने पनि सुझाएको छ । अबका दिनहरूमा एमसिसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो । त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन।

एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण-अनुदान लिनु र सन्धि-सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुनेछ,’  विज्ञप्तिमा भनिएको छ ।