झण्डै ५ घण्टा ढिलो गरी सुरु भएको कैलाली काँग्रेसको ३ सय मत गणना हुँदा, १५ मत बदर

झण्डै ५ घण्टा ढिलो गरी सुरु भएको कैलाली काँग्रेसको ३ सय मत गणना हुँदा, १५ मत बदर

धनगढी । तोकएको समय भन्दा झण्डै ५ घण्टा ढिलो गरी कैलाली काँग्रेसको मतगणना सुरु भएको छ ।

आइतबार मतदान सके लगत्तै मतगणना गर्ने भनिएपनी अबेर रातिसम्म सहमति हुन नसकेपछि सोमबार बिहान १० बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर, सोमबार बिहान पनि सहमति जुट्न नसकेपछि समयमा मतगणना हुन सकेको थिएन ।

सो पार्टीका निर्वाचन अधिकृत टेक प्रसाद सुबेदीले सभापतिका उम्मेदवारहरूबिच मतगणनाको विषयमा सहमति हुन नसक्दा ढिलो गरी मतगणना सुरु भएको बताए । सभापतिको मतगणना सम्पन्न पछि मात्रै अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

अहिले सम्म भएको मतगणना अनुसार संस्थापन पक्षका सभापति प्रकाशबहादुर बम १४४ मत संस्थापन पक्षकै अर्का सभापति पदका उम्मेदवार नारायण भट्ट ११३ मत र इतर समुह अर्थात कोईराला पक्षका सभापति पदका उम्मेदवार राम बहादुर कलेल ४० मत प्राप्त गरेका छन् । जम्मा ३००  मत गणना भएकोमा १५ मत बदर भएको जनाईएको छ । 

२ हजार ५ सय ७६ प्रतिनिधि रहेको जिल्लामा २ हजार ४ सय ८५ ले मतदान गरेका थिए । निर्वाचन अधिकृत सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा यही १८ गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको बताए ।

मतदाता मतदान गरेर फर्किइसकेकाले पहिलो चरणमा सभापतिको नतिजा आउन नसकेमा आज नेपाल बन्द र भोलि शिवरात्रि पर्व परेको कारण १८ गते दोस्रो चरणको निर्वाचनमा जाने गरी छलफल भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको जिल्ला अधिवेशन कैलाली र अछाम बाहेक बाँकी सबै जिल्लामा यस अघि नै सम्पन्न भइसकेको छ ।