एमसिसी पारितपछि चीनको भनाई अन्तर्राष्ट्रिय सहायताले अन्य मुलुकको सार्वभौम र जनचाहना सम्मान गर्नुपर्छ

एमसिसी पारितपछि चीनको भनाई अन्तर्राष्ट्रिय सहायताले अन्य मुलुकको सार्वभौम र जनचाहना सम्मान गर्नुपर्छ

नेपालको संसदबाट एमसिसी अनुमोदन भएको घटनालाई चीनले ‘नोट’ गरेको प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वेनबिनले अन्तर्राष्ट्रिय विकास सहायताले कुनै पनि मुलुकको सार्वभौमसत्ता र जनचाहनालाई पूर्ण रूपमा सम्मान गर्नुपर्ने भनाइ दोहोर्‍याएका छन् । एमसिसी पारित भएपछि चीनको पहिलो प्रतिक्रिया आएको हो । मन्त्रिपरिषद् बैठकले सोमबार नै छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

‘नेपालको संसदबाट भएको निर्णय र व्याख्यात्मक घोषणालाई चीनले नोट गरेको छ,’ प्रवक्ता वाङले भनेका छन्, ‘अन्तर्राष्ट्रिय विकास सहायताले कुनै पनि मुलुकसँग पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तको पालना गर्दै मुलुकको सार्वभौमसत्ता र जनताको इच्छालाई पूर्ण रूपमा सम्मान गर्नुपर्नेमा चीनले धेरैपटक जोड दिँदै आएको छ । यसले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न, राजनीतिक तार जोड्ने वा जबर्जस्ती कूटनीतिमा संलग्न हुनुहुँदैन, अझै पनि अरू देशको सार्वभौमसत्ता र आफ्नो हितका लागि अरूको हितको अवमूल्यन गर्नुहुँदैन ।

नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रूपमा चीनले नेपाली जनतालाई स्वतन्त्र रूपमा विकासको बाटो छनोटमा सधैँ सहयोग गर्ने पनि चीनको भनाइ छ । चीनले यसअघि अमेरिकी एमसिसी उपहार हो कि पान्डोराज बक्स हो भन्दै प्रश्न गरेको थियो भने नेपालमा एमसिसीका नाममा अमेरिकाले जबर्जस्ती कूटनीति सञ्चालन गरेको आरोप लगाएको थियो।

एमसिसी पारित भएलगत्तै अमेरिकाले स्वागत गरिसकेको छ । नेपालको मन्त्रिपरिषद् बैठकले सोमबार एमसिसी पारित भएपछि चीनको चासो सम्बोधनको प्रयास गरेको छ । ‘सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरूप छिमेकी भारत, चीनलगायत कुनै पनि मित्रराष्ट्रहरूको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिबद्ध छ,बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने । सरकारले नेपालको विकासमा सहयोग पुर्‍याउने दातृ मुलुक तथा दातृ निकायलाई पनि धन्यवाद दिएको छ ।