सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन : झलनाथ खनाल

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने दाबी गरेका छन् । बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकोले कुनै हालतमा पनि नटुट्ने दाबी गरेका हुन् ।

उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रूपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने बताए । नेता खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबीसमेत गरे । 

उनले मनमोहन अधिकारी प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिस्ट सरकारले ज्येष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा सुरु गरेको पनि स्मरण गरे । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले सुरु गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना ज्येष्ठ नागरिकहरूलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ ।