सुदूरका सिमाक्षेत्रमा भइरहेका ज्याजति बारे बोल्ने सामर्थ्य नभएको सरकारको आवश्यकता छैन: पोखरेल

सुदूरका सिमाक्षेत्रमा भइरहेका ज्याजति बारे बोल्ने सामर्थ्य नभएको सरकारको आवश्यकता छैन: पोखरेल

धनगढी ।  नेकपा एमाले का महासचिव शंकर पोखरेलले सुदूरपश्चिमका सिमाक्षत्रमा भइरहेका ज्याजतिका बारेमा बोल्ने सामर्थ्य नभएको सरकार राखिराख्न आवश्यक नभएको बताएका छन् । 

पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा कार्यकर्तालाई भ्रममा पारेर स्वार्थको रोटी सेक्ने काम गरेको आरोप समेत लगाएका छन् ।

बिहीबार धनगढीमा आयोजित कार्यक्रममा उनले पहिले एमसीसी राष्ट्रघाती भएको बताएको र अहिले व्याख्यात्मक घोषणाका नाममा कार्यकर्तालाई मूर्ख बनाइएको उनको भनाइ छ ।

“व्याख्यात्मक घोषणा भनेको जे भनेको छ त्यही स्पष्ट पार्ने । जे हो त्यही हो । हिजो गलत थियो, आज सही थियो भन्ने हन्छ र ? उहाँहरूले भन्नुपर्‍यो हिजो बुझेका रहेनछौँ । बुद्धिजीवीहरूले व्याख्यात्मक घोषणा गरेपछि छ्याङ्ङ भयौँ,” उनले भने ।

प्रचण्ड र नेपालले तत्कालीन नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरर राष्ट्रघाती काम गर्न लागेकोे आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको तर अहिले सोही सम्झौता पारित गर्न सहयोगी बनेको पोखरेलले बताए । हाल प्रचण्ड र नेपाल गलत साबित भएको भन्दै उनले सँगै गएका नेता–कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह समेत गरे । 

“अब माधव नेपालतिर गएका साथीहरू या प्रचण्डतिर गएका साथीहरूले अब बुझ्ने बेला भयो । नेकपाको अन्तरसंघर्षमा उहाँले जे पोजिसन राख्नुभएको थियो, त्यो पोजिसनको अन्त्य भयो । उहाँहरू गलत साबित हुनुभयो । नेकपा एमाले अर्थात् केपी ओलीको नेतृत्वमा हामीले राख्दै आएको अडान सही साबित भएका छन् । त्यस अर्थमा तपाईंहरू फर्कनुस् । त्यहाँ रहिरहनुपर्ने जरुरी छैन । आउनुस्, हामी मिलेर हामी बलियो पार्टी निर्माण गरौँ ।”