रूसले युक्रेनमा आक्रमण गरेको बिहीबार आठौं दिन भैसकेको छ ।
आठौं दिनमा आइपुग्दा रूसी सैनिकहरूले पूर्वी युक्रेनको एउटा क्षेत्रीय राजधानी कब्जामा लिएका छन्। युक्रेनको राजधानी किएभ कब्जा गर्ने उनीहरूको प्रयास जारी छ। नागरिकस्तरबाट रूसी आक्रमणको प्रतिरोध भइरहेकाले किएभको बाहिर पुगेको तीन दिन भइसक्दा पनि रूसी सैनिकले सहर कब्जा गर्न सकेका छैनन्।
संयुक्त राष्ट्रसंघको अनुमानित आँकडा अनुसार बुधबारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु भएको छ भने ५२५ जना घाइते भएका छन्। यसमा केही बालबालिका पनि परेका छन्।
रूसले अहिलेसम्म नागरिकलाई लक्षित गरी आक्रमण नगरेको बताएको छ तर रूसी आक्रमणमा आमयुक्रेनीले पनि ज्यान गुमाएका छन्।
यसअघि युक्रेनी सरकारले २ हजारभन्दा बढी नागरिकको मृत्यु भएको हुन सक्ने बताएको छ।
सैनिकतर्फको क्षतिमा पनि युक्रेन र रूसले फरक(फरक आँकडा सार्वजनिक गरेका छन्। युक्रेनले अहिलेसम्म ७ हजार रूसी सैनिक मारिएको दाबी गरेको छ। बुधबार पहिलो पटक युक्रेन युद्धमा ज्यान गुमाउनेको संख्या सार्वजनिक गर्दै रूसले आफ्ना ४९८ सैनिक मारिएको र १५९७ भन्दा बढी घाइते भएको जनाएको छ।