दशरथचन्द नगरपालिकाद्धारा आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा

दशरथचन्द नगरपालिकाद्धारा आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीको दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ ।

दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी श्रमिकको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।”

नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । उहाँले भन्नुभयो, “अहिले नमूनाका रुपमा केही वडामा आप्रवासी श्रमिकको दुर्घटना बीमा  गर्छौं, यसले त्यहाँ काम गर्ने श्रमिक दुर्घटना परे पनि सहयोग मिल्नेछ ।”

रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी श्रमिकको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।” यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी श्रमिकको दुर्घटना बीमा गर्दै आएको छ ।