कैलाली कारागारका एक थुनुवा युवकको मृत्यु

कैलाली कारागारका एक थुनुवा युवकको मृत्यु

धनगढी । कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको घोडाघोडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनी फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो । जिल्ला अदालत कैलालीले ६ महिना अघि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।