आज माओवादी केन्द्रीय समितिको बैठक बस्दै, बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी

आज माओवादी केन्द्रीय समितिको बैठक बस्दै, बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज फेरि बस्दै छ।

आज बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो। आजको बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरिएको छ।

केन्द्रीय समितिलाई पूर्णता, पोलिट ब्युरो र स्थायी कमिटी गठनका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए। उनका अनुसार आज अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता लगायतका अजेन्डा रहेका छन्।

राष्ट्रिय महाधिवेशन भएको लामो समय बितिसक्दा पनि माओवादीका केन्द्रीय पदाधिकारी चयन भएका छैनन्। आजको बैठकबाट केन्द्रीय पदाधिकारी चयन गर्ने तयारी छ। यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल गरिरहेका छन्।

यसअघि शुक्रबार माओवादी केन्द्रीय समिति बैठक बसेको थियो। पदाधिकारी चयनका लागि गृहकार्य गर्नुपर्ने जनाउँदै शनिबार बैठक बसेको थिएन।

गत पुस ११ गते देखी १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्ष चयन भएका थिए। त्यस्तै, महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था गरेको थियो।

यससँगै १५ सदस्यीय पदाधिकारी रहने गरी विधान संशोधन गरेको थियो। जसअनुसार, एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।