शुक्लाफाँटामा बाघ गणनाका क्यामरा जोगाउनै हम्मे, पाँच जोडी क्यामरा चोरी

शुक्लाफाँटामा बाघ गणनाका क्यामरा जोगाउनै हम्मे, पाँच जोडी क्यामरा चोरी

कञ्चनपुर । राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्प्लेक्समा पाँच जोडी क्यामरा चोरी तथा फुटाइएका छन् । निकुञ्ज प्रशासनका अनुसार शुक्लाफाँटासँगै लालझाडी संरक्षित क्षेत्र र जोगबुडा तिनै क्षेत्रमा क्यामरा चोरी भएको र फुटाइएको अवस्थामा भेटिएका हुन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार तीन जोडी क्यामरा चोरी भएका छन् । दुई जोडी क्यामरा तोडफोड भएको छ । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र एक क्यामरा बाघले लगेर तोडफोड गरेर पुनः त्यही ठाउँमा राखेको पाइएको छ । एक क्यामरा हात्तीले तोडफोड गरेर फालेको अवस्थामा भेटिएको छ ।

‘बाघले क्यामरा निकालेर फेरि त्यही ठाउँमा फालेको अवस्थामा भेटियो, बाघले क्यामरा निकालेको तस्बिर सँगै रहेको अर्को क्यामरामा कैद भयो,’ अर्यालले भने, ‘अर्को ठाउँमा एउटा क्यामरा हात्तीले फुटाएको छ ।’ उनका अनुसार निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान क्षेत्रमै राखिएको क्यामरा बाघले लगेको हो । लालझाडी संरक्षित क्षेत्रअन्तर्गत डाँडाजाई क्षेत्रमा राखिएका दुई जोडी क्यामरा चोरी भएको उनले बताए ।

यस्तै, लालझाडी संरक्षित क्षेत्रअन्तर्गत नै कृष्णपुरको दोमिल्ला क्षेत्रमा पनि एक जोडी क्यामरा तोडफोड भएको छ । डडेलधुराको जोगबुडाको चिरिकिट्टेमा पनि एक जोडी क्यामरा तोडफोड भएको अर्यालले बताए ।शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा माघ १९ देखि क्यामरा ट्र्यापिङ विधिबाट बाघ गणना सुरु भएको थियो ।