माओवादी केन्द्रको बैठक फेरि सारियो, अब भोलि बिहान ११ बजे बस्ने

माओवादी केन्द्रको बैठक फेरि सारियो, अब भोलि बिहान ११ बजे बस्ने

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकको समय पुनः सारिएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि, आज बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । गएको शुक्रबार सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए ।

पदाधिकारी चयनको गृहकार्यका लागि बैठक सारिएको नेताहरु बताउँछन् । गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।