विप्लवका जनवर्गीय संगठनमाथि पनि प्रतिबन्ध लगाउन उच्च तहमा गम्भीर छलफल

विप्लवका जनवर्गीय संगठनमाथि पनि प्रतिबन्ध लगाउन उच्च तहमा गम्भीर छलफल

सरकारले नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरूलाई पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । विद्यार्थी, पत्रकार, कर्मचारी, मजदूर, र शिक्षक संगठन लगायत अन्य जनवर्गीय संगठनमाथि प्रतिबन्ध लगाउने विषयमा गम्भीर छलफल भइरहेको र केही दिनमा उक्त निर्णय आउनसक्ने स्रोतको दाबी छ ।

मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहका क्रियाकलाप आतंककारी र आपराधिक भएको निष्कर्षसहति प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णयसँगै उच्च तहमा उक्त पार्टीका जनवर्गीय संगठनहरूलाई पनि प्रतिबन्ध लगाउने विषयमा गम्भीर छलफल भएको स्रोतले लोकान्तरलाई बतायो ।

विप्लव नेतृत्वको पार्टीले ललितपुरस्थित एनसेलको मुख्यालयमा फागुन १० गते भएको बम विस्फोट र देशैभरिका दर्जनौं एनसेल टावरमाथि भएको आगजनीको जिम्मा लिएको थियो । विस्फोटमा परी एक जनाको ज्यान गएको थियो भने अन्य केही घाइते भए ।

गत शुक्रवार नेपाल म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा भएको बम विस्फोटको जिम्मा पनि उक्त पार्टीको युवा संगठनले लिएको थियो ।

पछिल्लो समयमा यस्ता आपराधिक गतिविधि बढ्दै गएपछि सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।