खप्तड गोल्डकप : फ्रेन्ड्स सेमिफाइनलमा

खप्तड गोल्डकप : फ्रेन्ड्स सेमिफाइनलमा

धनगढी । ए डिभिजन क्लब फ्रेन्ड्स क्लब पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज आइतवार क्यामरुनको एभेनिर फुटबल क्लबलाई दुई–शून्य गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।

फ्रेन्ड्सलाई जितउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । उनले खेलको ५३ औँ र ६२ औँ मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याच भएका उनले नगद १० हजार रुपैयाँ पाए । 

अब फ्रेन्ड्सले सेमिफाइनलमा मच्छिन्द्र र बाग्मती युथ क्लबबीचको विजेतासँग खेल्नेछ । खेलपछि प्रतिक्रिया दिँदै फेन्ड्सका प्रशिक्षक मिगेन्द्र मिश्रले फिटनेस र टिम वर्कका कारण गोल निकाल्न सक्दा खेल जितेको बताए । 

खेलपछि प्रतिक्रिया दिँदै एभेनिर फुटबल क्लबका प्रशिक्षक आशिक थापा मगरले लामो यात्रापछि खेल खेल्दा र सबै खेलाडीहरू नपुगेका कारण खेल गुमाएको बताए । 

आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।