माओवादी केन्द्रीय समितिको बैठक आज तेश्रो दिन पनि जारी, अधुरो रहेको समितिलाई पूर्णता दिने

माओवादी केन्द्रीय समितिको बैठक आज तेश्रो दिन पनि जारी, अधुरो रहेको समितिलाई पूर्णता दिने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि बस्दै छ । शुक्रबार राष्ट्रिय सभा गृहमा सुरु भएको बैठक शनिबार स्थगित भएर आइतबार बत्तिसपुलतीस्थित अनुपम फुडल्यान्डमा बसेको थियो । आज पनि सोही फुडल्यान्डमा बिहान ११ बजे बैठक बस्ने तय भएको जनाइएको छ ।

आजको बैठकले पार्टीको पछिल्लो महाधिवेशनपश्चात् अधुरो रहेको केन्द्रीय समितिलाई पूर्णता दिने बताइएको छ । माओवादीमा पदाधिकारी चयन लगायत विषय अधुरा नै छन् । यसबारे भने अब चुनावपछि मात्रै छलफल हुने जनाइएको छ ।

आजको बैठकले केन्द्रीय सदस्यहरु थप गर्ने र नेताहरूको कार्यविभाजनबारे समेत छलफल हुने स्रोतको दाबी छ । स्रोतका अनुसार हाल ६३ जना केन्द्रीय सदस्य थप्नुपर्ने देखिएकाले यसबारे नामावली तयार पारेर बैठकमा पेश गर्ने तयारी रहेको छ ।

गत पुसमा सम्पन्न आठौँ महाधिवेशनले माओवादी केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ, जसमध्ये २४७ जना केन्द्रीय सदस्य महाधिवेशनमार्फत चयन भइसकेका छन् भने बाँकी केन्द्रीय समिति बैठकबाटै चयन गरी समितिलाइ पूर्णता दिने तयारी रहेको छ ।