गर्मीयाम सुरु भएसंगै डढेलो र चट्याङको जोखिम बढ्ने सम्भावना

गर्मीयाम सुरु भएसंगै डढेलो  र चट्याङको जोखिम बढ्ने सम्भावना

प्रि–मनसुन अर्थात् गर्मीयाम सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुनको अवधिमा सुक्खा हुने भएकाले चट्याङ र डढेलोको जोखिम हुने गर्छ । ‘प्रि–मनसुनमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटी भन्छिन्, ‘तापक्रम बढ्ने र सुक्खायाम हुने भएकाले आगलागी, डढेलाको जोखिम पनि हुन्छ ।’ नेपालमा सुक्खायाम र बर्खामा चट्याङको बढी जोखिम हुने गर्छ ।

नेपालमा जाडोयाम १६ फागुनमा सकिएसँगै गर्मी पनि बढ्न थालेको छ । जाडोयाममा पश्चिमी न्यूनचापीय प्रणालीको असर हुने गर्छ भने प्रिमनसुनमा प्रायः स्थानीय वायुको प्रभाव हुन्छ । मौसमविद् नगरकोटीका अनुसार योयाममा सानो क्षेत्रमा विकसित भएर साँझपख हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ । नेपालमा चट्याङबाट बर्सेनि सयजनाको ज्यान जाने गर्छ । विशेषगरी, वैशाख–जेठ र बर्खामा चट्याङ पर्ने जोखिम बढी हुने गर्छ ।

त्यस्तै, सुक्खायाममा आगलागी र डढेलाका घटना बढी हुने गर्छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मुलुकका धनुषा, तनहुँ, तेह्रथुम, मकवानपुर, इलाम, सर्लाही, काठमाडौं, बारा, सप्तरी, उदयपुर र सोलुखुम्बुमा आगलागीका १२ घटना भएका छन् । त्यस्तै, शनिबारबाट लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलो लागेको छ । वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा वार्षिक २ लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्छ । 

कस्तो हुन्छ यो वर्षको प्रि–मनसुन ? 
यो वर्ष गर्मीयाममा मुलुकका धेरै क्षेत्रमा वर्षा हुने भएकाले तापक्रम पनि औसत नै रहने आकलन गरिएको छ । विश्व मौसम संगठनले नेपालसहित १२ वटा मुख्य केन्द्रको आगामी तीन महिनाको वर्षा र तापमान आकलन गर्दा यस अवधिमा औसत वर्षा हुने आकलन गरेको हो ।

आकलनअनुसार प्रदेश १, मधेस र बागमतीमा सरदरभन्दा बढी वर्षाको सम्भावना ५०–६० प्रतिशत छ । लुम्बिनी, गण्डकीका केही भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४०–५० प्रतिशत रहँदा कर्णालीमा सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको छ । सुदूरपश्चिमसहित अन्य क्षेत्रमा वर्षाको स्पष्ट आकलन देखिँदैन । यो अवधिमा औसतमा २२६.३ मिलिमिटर वर्षा हुने गर्छ । यो अवधिमा मुलुकका धेरै क्षेत्रमा औसत वर्षा हुने भएकाले तापक्रम पनि औसत नै रहने आकलन गरिएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् ।

विश्व मौसम संगठनको आकलन हेर्दा कम पानी पर्ने आकलन गरिएको कर्णालीमा तापक्रम औसतभन्दा बढी हुने सम्भावना ६०–७० प्रतिशत छ । त्यस्तै, प्रदेश १ मा पनि तापक्रम बढी हुने सम्भावना ४०–५० प्रतिशत छ । 

नेपालमा धनगढी, नेपालगन्ज, वीरगन्जलगायत गर्मी अधिक हुने सहर हुन् । धनगढीमा ५ जुन १९९५ मा अधिकतम तापक्रम ४६.५ डिग्री सेल्सियस मापन गरिएको थियो । प्रि–मनसुनमा तुलानात्मक रूपमा सुक्खा हुने भएकाले मुहान सुक्ने, भूमिगत पानीको सतह झन् तल जाने समस्या बढ्छ ।