सुदूरमा काँग्रेसलाई मन्त्रालय दिन नेकपा एसले मन्त्रालय छोड्ने सहमति भएको प्रचण्डको खुलासा

सुदूरमा काँग्रेसलाई मन्त्रालय दिन नेकपा एसले मन्त्रालय छोड्ने सहमति भएको प्रचण्डको खुलासा

धनगढी ।  कार्यकर्ताहरूलाई राजनैतिक तथा वैचारिक प्रशिक्षणका लागी धनगढी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा कुनै गठबन्धन र तालमेल बिना अगाडी बढ्ने बताएका छन् । सोमबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा सुदूरपश्चिम प्रदेशमा काँग्रेसलाई पनि सरकारमा ल्याउन नेकपा एसले केही मन्त्रालय छोड्न तयार हुने पर्ने सहमति भएको खुलासा गरेका छन् । 

हरेक कुरामा अन्य दलसँग तालमेलको कुरा भइरहेको बताउँदै प्रचण्डले चुनावमा जाँदा पहिलो प्राथमिकता भने एक्लै–एक्लै जाने नै रहेको स्पष्ट पारे । 

यस्तै, अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसलाई पनि मन्त्रालय दिने सहमति भएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशमा काँग्रेसको भाग मागेको र सो विषयमा माधव नेपाल सँग पनि छलफल गरी केही मन्त्रालय दिने सहमति भएको बताएका छन् । यद्धपी यसका लागी एकीकृत समाजवादी पार्टी मन्त्रालय छोड्न तयार हुनुपर्ने बताए ।  ''त्यस विषयमा माधव नेपालजी सँग पनि छलफल भएको छ, उहाँ पनि सकारात्मक हुनुहुन्छ ।''

११ सदस्यीय मन्त्रीपरिषद् रहेको सुदूरपश्चिममा ४ मन्त्री र ३ राज्यमन्त्री गरी ७ जना एकीकृत समाजवादी पार्टीका मन्त्री छन् । माओवादी केन्द्रबाट तीन मन्त्री र एक राज्य मन्त्री गरी ४ जना मन्त्री छन् । 

त्यस्तै, अध्यक्ष प्रचण्डले सदियौँदेखि नै काठमाडौँले सुदूरपश्चिमलाई हेपेको समेत बताएका छन् । उनले आजै भएको माओवादीको सुदूरपश्चिम प्रदेश प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा यस्तो बताएका हुन्। ''एक दिन दुहिदिन होइन, इतिहासदेखि नै सुदूरपश्चिमलाई राज्यले, काठमाडौँले जसरी विभेद र अपमानका साथ हेर्यो,  उनले भने, अब त्यसलाई उल्ट्याउनु छ। हामीले एक हदसम्म संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमार्फत समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गरेर सुदूरपश्चिमलाई प्रदेशको मान्यता दियौँ। तर अझै पनि त्यो पूर्ण भएको छैन।''