नेपाल-भारतबीच समन्वयात्मक बैठक : तटबन्धको स्थलगत अध्ययन गर्ने सहमति

नेपाल-भारतबीच समन्वयात्मक बैठक :  तटबन्धको स्थलगत अध्ययन गर्ने सहमति

दार्चुला । भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धको विषयमा समन्वयात्मक बैठक बसेको छ । तटबन्ध निर्माणका क्रममा विवाद सृजना भएपछि नेपाल र भारतीय पक्षबीच पहिलो पटक बैठक बसेको हो ।

तटबन्ध निर्माणका क्रममा उत्पन्न विवाद साम्य पार्नुका साथै दुवैतिर क्षति नहुने गरि संरचना निर्माण गर्ने विषयमा छलफल भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

आइतवार दार्चुला सदरमुकाम खलंगामा नेपालकोतर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र भारतको पिथौरागढ जिल्लाका एसडीएम अनिल कुमार शुक्लाको संयोजकत्वमा प्राविधिकसहितको टोलीले २ घण्टा छलफल गरेको हो ।

छलफलमा भारतीय प्राविधिक टोलीले तटबन्धको डिजाइन स्टमेट लगायत कुराको जानकारी नेपाली पक्षलाई गरेका थिए । महाकाली नदीमा खसेको खोतिला पहिरो क्षेत्रमा क्षति नहुने गरी नदीको भाग चौडा बनाउने भारतीय पक्षले जनाएको छ ।

यसैबीच बैठकमा दुवैतिर प्राविधिकसहितको टोली गठन गरेर महिनाको २ पटक संयुक्त स्थलगत अध्ययन, अनुगमन गरी प्रतिवेदन बनाउने सहमति भएको छ । भारतको सिचाइ विभागले खलंगा पारी महाकाली नदीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ ।

तटबन्धको दुई प्याकेजमा काम भइरहेको जनाइएको छ । यसअघि भारतीय पक्षले नेपालसँग समन्वय नगरी एकतर्फि तटबन्ध निर्माण  गरिरहेको थियो । एकतर्फि रुपमा नदीको बहाव नेपालतिर फर्कारहेको भन्दै स्थानीयहरु आन्दोलित बन्ने गरेका छन् ।