मुख्यमन्त्री कप यु-१९ राष्ट्रिय क्रिकेट : सुदूपश्चिमको पहिलो जित

मुख्यमन्त्री कप यु-१९ राष्ट्रिय क्रिकेट : सुदूपश्चिमको पहिलो जित

धनगढी । धनगढीमा जारी मुख्यमन्त्री कप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिमले सोमबार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित हात पारेको हो ।

१०८ रनको लक्ष्य उसले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि मनिषा चौधरीले अविजित ३० रनको योगदान दिइन् । २८ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् ।

अनु कडायतले २७ रन बनाउँदा यशोधा विष्ट ११ रनमा अविजित रहिन् । लुम्बिनीका लागि सुस्मिता भुषालले १ विकेट हात पार्दा ३ विकेट रन आटका रूपमा प्राप्त भयो ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । लुम्बिनीका लागि जिज्ञासा थापाले सर्वाधिक ३२ रनको योगदान दिइन् । ३३ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन् ।

रञ्जु श्रेष्ठले २५ रन जोड्दा यमुना थारू १५ रनमा अविजित रहिन् । सुदूरपश्चिमका लागि मनिषा चौधरी, जानकी थापा र स्नेहा महराले एकरएक विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

योसँगै पहिलो जित हात पारेको सुदूरपश्चिमले २ खेलमा २ अंक जोड्दा लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । सुदूरपश्चिमले पहिलो खेलमा कर्णाली प्रदेशसँग ३४ रनको पराजय बेहोरेको थियो ।