एमालेले तय गर्‍यो उमेदवारको मापदण्ड, यसरी छानिने छन् उम्मेदवार ?

एमालेले तय गर्‍यो उमेदवारको मापदण्ड, यसरी छानिने छन् उम्मेदवार ?

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णयअनुमोदन गर्दै मापदण्ड बनाएको हो ।

उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार जनप्रतिनिधिमा निर्वाचित भएर काम गरिरहेकाहरुको हकमा कामको मूल्यांकन हुनेछ ।

यस्तै कार्य क्षमता, विकास र सुशासनप्रति दृष्टिकोण, लोकप्रियता र चुनावमा जित्ने आधार, पार्टीको आन्दोलनमा पुर्‍याएको योगदान र पार्टीप्रति निष्ठाका साथै सन्तुलन र समवेशीलाई उम्मेदवार छनोटको मापदण्ड बनाइएको छ । एमालेमा वडा सदस्य र वडाध्यक्षहरुको उम्मेदवार वडा कमिटीले सिफारिस गर्नेछ भने जिल्ला कमिटीले निर्णय गर्नेछ ।

पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका कमिटीको सुझावमा जिल्लाले सिफारिस गर्नेछ भने प्रदेश कमिटीले निर्णय गर्नेछ । महानगरका मेयर र उपमेयरका उम्मेदवारबारे निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्नेछ ।