दीपेन्द्रको शतकमा नेपालले पपुवा न्युगिनिलाई दियो २७९ रनको लक्ष्य

दीपेन्द्रको शतकमा नेपालले पपुवा न्युगिनिलाई दियो २७९ रनको लक्ष्य

दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई दुई सय ७९ रनको लक्ष्य दिएको छ ।

दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले चुनौतीपूर्ण लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो । नेपालका दिपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले ।

१ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने । खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो ।

कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए । तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा पुर्याएका हुन् ।