कांग्रेस र कम्युनिस्टलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता हो : राजेन्द्र लिङदेन

कांग्रेस र कम्युनिस्टलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता हो : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरूलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरूसँग नै नभएको लिङदेनको भनाइ छ । उनले आउँदो निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरबार चलाएको भन्दा ठूलो हुने बताए ।

अध्यक्ष लिङदेनले ३१ वर्षसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मूर्खता भएको टिप्पणी गरे । आफ्नो पार्टीले पाँच वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने जिकिर उनले गरे ।

जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै उनले मतरूपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गरे । कांग्रेस, एमाले र माओवादीप्रति लक्षित गर्दै साँढेको टाङमुनि बाल्टी थापेर दूध नआउने बताए ।

मूलधारमा रहेका पार्टीहरूको दिमाग बाँझो भइसकेको भन्दै उनले जति भोट दिए पनि उनीहरूले देश नबनाउने दाबी गरे । राप्रपालाई एकपटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न आग्रह पनि गरे ।