म्यादी प्रहरी बन्न सुदूरपश्चिममा साढे २९ हजारले दिए आवेदन, कति जना हुँदै छन् छनोट ?

म्यादी प्रहरी बन्न सुदूरपश्चिममा साढे २९ हजारले दिए आवेदन, कति जना हुँदै छन् छनोट ?

धनगढी । म्यादी प्रहरीका लागि सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका हुन् ।

आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आवेदन माग गरेको थियो । आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ६२ जना पूर्वसैनिक, दुई सय १५ पूर्वप्रहरी, ५५ जना पूर्वशसस्त्र प्रहरी र आठ जना पूर्ववन रक्षकले म्यादी प्रहरी बन्न आवेदन भरेका प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर बिष्टले जानकारी दिए ।

सुरक्षा निकायको भर्नामा आवेदन भरेर स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका सात सय ५६ जनाले म्यादी प्रहरीमा दरखास्त दिएका छन् । २०७४ सालको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ काम गरेका एक हजार ८७१ जनाले पनि आवेदन दिएका प्रहरी निरिक्षक बिष्टले जानकारी दिए ।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् ।