भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेश मन्त्रीलाई माओवादीको आग्रह

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेश मन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । 

नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेश मन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो । 

नेपालको त्रि दिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेश मन्त्री एवं राज्य परिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गर्नुभएको शिष्टाचार भेटका क्रममा उक्त अनुरोध गरिएको हो ।  
माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरूले चिनियाँ विदेश मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । 

सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो । 

माओवादी अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याउनुभयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र उहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ ।” नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरू विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।