स्व.कडायतको स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड हस्तान्तरण

स्व.कडायतको स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड हस्तान्तरण

धनगढी । स्व. रतनसिंह कडायतको स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड हस्तान्तरण गरिएको छ ।

टिकापुर नगरपालिका वडा नं .६ नारायणपुरका व्यापारी तथा समाजसेवी स्व. कडायतको धर्मपत्नी रम्भा कडायत र जेठा छोरा किरण कडायतले एक कार्यक्रमका बिच टिकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र बहादुर रावल र सुदुर पश्चिम प्रदेश ट्राफिक कार्यालय प्रमुख एसपि प्रविण धिताललाई  प्रहरी आइल्याण्ड हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले टिकापुरमा सडक दुर्घटनाका घटना बढ्दै गैरहेको अवस्थामा ट्राफिक प्रहरी आइल्याण्ड निर्माणले सडक दुर्घटनामा कमि आउने बताए । जनताको जिउधनको सुरक्षाको लागि सडकमा अहोरात्र खटिने ट्राफिक प्रहरीको लागि आवश्यक पर्ने सहयोगका लागि स्थानीय सरकार तयार रहेको बताए ।

विशिष्ट अतिथि रहेका सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी प्रविण धितालले सडकमा बाइक दुर्घटनाको प्रमुख कारण तिव्रगतिमा मोटरसाइकल हाँक्नु रहेको बताउँदै हुलाकी सडक को चौबाटोमा स्थापना भएको ट्राफिक प्रहरी आइल्याण्ड निर्माणले दुर्घटना कमि हुने बताए ।

कार्यक्रममा टिकापुर नगरपालिकाका नगर उप प्रमुख केशरी बिष्टले समाजसेवी स्व. रतनसिंह कडायतको स्मृतिमा ट्राफिक प्रहरी आइल्याण्ड निर्माण गरिनु सराहनीय काम भएको बताउँदै यस्तो सराहनीय कामको अनुशरण अरुले पनि गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामलाल डगौरा थारुले अस्थाई टोलीका ट्राफिक प्रहरी सत्तिले ट्राफिक जनचेतनामूलक काम गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीलाई वडाको तर्फबाट पनि कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली पुलमा बिट सहयोग गरेको बताए । 

स्व. रतनसिंह कडायतका दाइ तथा काँग्रेस नेता फकिरसिंह कडायतले समाजलाई योगदान दिने व्यक्ति समाजमा सदा स्मरणीय हुने बताउँदै ।सामाजिक कामको लागि भाइ सँधै अग्रसर हुने भएकोले उनका परिवारले पनि अनुशरण गरेकोमा खुुसी व्यक्त गरे । आइल्याण्ड हस्तान्तरण पछि कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले आइल्याण्ड हस्तान्तरणकर्ता रम्भादेवि कडायत र किरण कडायतलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक वकिल बहादुर सिंहले गरेका थिए भने संचालन ट्राफिक प्रहरी कार्यालय लम्किका प्रमुख कृष्ण पुजाराले गरेका थिए । 

ट्राफिक प्रहरी आइल्याण्ड निर्माणका लागि समन्वय अस्थाई ट्राफिक प्रहरी पोष्ट सत्तिका ट्राफिक प्रहरी प्रमुख किशोर बहादुर सिंह र ट्राफिक प्रहरी देवी धितालले गरेका थिए ।
खक्रौला टिकापुर र भजनि सत्ति सडक खण्डको खैरिपुर चोकमा स्थापित ट्राफिक प्रहरी आइल्याण्ड निर्माणमा १ लाख २० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ । 

कार्यक्रममा टिकापुर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष ,व्यापारिक प्रतिष्ठानका संचालक, सामाजिक तथा राजनैतिक अगुवा ,बडघर र संचारकर्मिहरुको उपस्थिति रहेको  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए ।