ओली पार्टी प्रवेश गराउनमै व्यस्त,मधेशमा एमाले प्रवेश गर्नेको लहर

ओली पार्टी प्रवेश गराउनमै व्यस्त,मधेशमा एमाले प्रवेश गर्नेको लहर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनयता पार्टी प्रवेश गर्न चाहनेलाई स्वागत गर्नमै व्यस्त छन् । 

भक्तपुरको बालकोटस्थित निजी निवासमा होस् वा देशका विभिन्न ठाउँमा आयोजना भएका सार्वजनिक समारोह जहाँ पनि ओली एमाले प्रवेश गर्न चाहनेलाई टीका लगाइरहेका भेटिन्छन् ।

निर्वाचनको मिति घोषणा भएयता विशेषगरी मधेश प्रदेशमा एमालेमा प्रवेश गर्नेको संख्या धेरै देखिएको छ । पार्टी विभाजित भएको बेला पनि एमाले प्रवेश गर्नेको संख्या बढिरहँदा ओली हौसिएका छन् ।

ओलीले एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको १० औं महाधिवेशनयता पार्टी सदस्य संख्या ३ लाख बढेको विवरण पेश गरेका थिए । ओलीको दावी अनुसार एमालेको पार्टी सदस्य ११ लाख पुगेको छ । 

२०७४ को निर्वाचन अघि मधेशमा केपी ओलीलाई प्रवेश गर्नै नसक्ने अवस्था सिर्जना गरिएको थियो । मधेश केन्द्रित दलहरूले एमालेलाई मधेशविरोधी दलको रूपमा चित्रित गरेका थिए ।
निर्वाचनअघि एमालेको पूर्व–पश्चिम अभियानका क्रममा सप्तरीमा ओली सहभागी हुने सभा बिथोलिएको थियो । त्यसपछि ओलीलाई मधेश झर्न लामो समय लाग्यो । 

तर, अहिले परिस्थिति फेरिएको छ । एमाले अध्यक्ष ओलीले मधेश प्रदेशमा अरू पार्टीका कार्यकर्ता एमाले प्रवेश गराइरहेका छन् । ओलीको मधेश मोह बढेको छ भने आउजाउ बाक्लिएको छ । 
विभिन्न पार्टीबाट चुनाव जितेका जनप्रनिधिहरूलाई ओलीले एमाले प्रवेश गराइरहेका छन् । मधेशमा एमालेले आयोजना गरेका कार्यक्रम र प्रवेश गर्नेको संख्या हेर्दा मधेशमा एमालेको लहर आएकोजस्तो देखिन्छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयारी सम्बन्धी कार्यशालालाई बुधवार भर्चुअलरूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गरे ।