गठबन्धनका असन्तुष्ट नेताहरुको नाम संकलन गर्न ओलीको निर्देशन

गठबन्धनका असन्तुष्ट नेताहरुको नाम संकलन गर्न ओलीको निर्देशन

 नेकपा एमालेले गठबन्धनका असन्तुष्टलाई स्थानीय तहको उम्मेदवार बनाउने योजना बनाएको छ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिँदा असन्तुष्ट रहेका अन्य स्थानीय तहका नेतालाई एमालेमा प्रवेश गराउनेदेखि राजनीतिक पद दिलाउनेसम्मका रणनीतिअनुसार जाने योजना एमालेले बनाएको हो।

‘बरु पराजित भए स्वीकार्ने तर चुनाव लडने मनस्थिति गरेर पाँच वर्षदेखि गृहकार्य गर्दै आएका नेतालाई पाँच दलीय गठबन्धनले टिकट नदिए तिनका भावना एमालेले सम्वोधन गर्नेछ’, एमाले अध्यक्ष केपी ओली शर्मा निकट एक नेताले भने, ‘त्यसका लागि स्थानीय तहमा पाँच दलले पाउने उम्मेदवार र नपाउने असन्तुष्ट नेतालाई याद गर्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ।’

उनका अनुसार सुरुमा पार्टीले गाउँपालिका, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाबाट उम्मेदवार सिफारिस गर्ने र साथसाथै पाँच दलीय गठबन्धनका सम्भावित असन्तुष्ट नेताको नामावली संकलन गर्न अध्यक्ष ओलीले गोप्य रुपमा निर्देशन दिएका छन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता सँगसँगै वार्ता गरिरहेका ओलीले गठबन्धनबाट असन्तुष्ट नेतालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको माओवादीका एक नेताले जानकारी दिएका छन्।