दीपेन्द्रको कीर्तिमानी शतकमा नेपालको लगातार चौथो जित

दीपेन्द्रको कीर्तिमानी शतकमा नेपालको लगातार चौथो जित

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियामाथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा मलेसियालाई ८५ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो ।

नेपालले दिएको दुई सय २४ रनको लक्ष्य पछ्याएको मलेसिया १९ ओभर पाँच बलमा एक सय ३८ रनमा अलआउट भयो । मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए ।

बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र रोहित पौडेलले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए ।

बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए । यस्तै मलेसिया ८५ रनको फराकिलो अन्तरले पराजित भएपछि पीएनजी उपाधि नजिक पुगेको हो ।

सिरिजमा मलेसिया र पीएनजीले समान २ अंक भएपछि नेट रनरेटमा मलेसियालाई पछि पार्दै पीएनजी भाग्यमानी बन्दै फाइनलमा पुगेको हो। उपाधिका लागि नेपाल र पीएनजी सोमबार खेल्नेछन्।