सम्मानजनक अस्तित्व स्थापितका लागि गठबन्धन हुन्छ : खगराज भट्ट

सम्मानजनक अस्तित्व स्थापितका लागि गठबन्धन हुन्छ : खगराज भट्ट

दार्चुला । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि चुनावमा गठबन्धन हुने बताउनुभएको छ । शनिवार प्रेस सेन्टर नेपालद्धारा दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो ।

उनले सुदूरपश्चिममा नेकपा माओवादी एक ढिक्का भएको बताउँदै आगामी निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्ने बताए । केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको उनको भनाइ थियो ।

साथै उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे माग जायज रहेको बताउदै यसबारे माथिल्लो तहमा यसबारे कुरा भइरहेको बताए । यसैबीच शनिवार जिल्ला सदरमुकाम खलंगामा नेकपा माओवादी केन्द्रले अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा प्रशिक्षण भेला आयोजना गरिएको हो । समन्वय समिति दार्चुलाका संयोजक मान बहादुर धामीको अध्यक्षता रहेको भेलालाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य खगराज भट्टले सम्बोधन गरेका थिए ।