कञ्चनपुरमा एमालेलाई ठूलो धक्का : बेदकोटका मेयर चन्दसहित २६ जनप्रतिनिधि समाजवादीमा

कञ्चनपुरमा एमालेलाई ठूलो धक्का : बेदकोटका मेयर चन्दसहित २६ जनप्रतिनिधि समाजवादीमा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर तथा नेकपा (एमाले) का नेता अशोककुमार चन्द माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । आज एक कार्यक्रमबीच उनलाई अध्यक्ष नेपालले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

मेयर चन्दसँगै पाँच वडाध्यक्षसहित निर्वाचित २६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गर्ने कार्यक्रम छ । १० वडा रहेको बेदकोटमा आठ वडाध्यक्ष एमालेले जितेको थियो । आठमध्ये पाँचजनाले एमाले परित्याग गर्न लागेका हुन् । 

मेयर चन्द एमालेभित्र माधव नेपाल समूहमा सक्रिय थिए । गएको पुस अन्तिम साता भएको जिल्ला अधिवेशनमा उनी सचिव पदमा चुनाव लडेर पराजित भएका थिए ।

आफूहरू पार्टी विभाजन हुँदा पनि एमालेमै रहेको र पार्टीभित्र आफूहरूमाथि अन्याय भएको उनीहरूले बुझाइ छ । 
बेदकोटमा एमालेका ११ सय संगठित सदस्य रहेका र तीमध्ये ५०० बढी आज समाजवादीमा समाहित हुन लागेका बताइएको छ ।