ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

ग्रीन भेन्चर्स लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार आईपीओ बाँडफाँड भएको छ । कम्पनीले यही चैत ८ देखि ११ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो ।

यसअघि नै आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गरिरहेको कम्पनीले सर्वसाधारणका लागि ३१ करोड २५ लाखबराबरको ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

त्यसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्ट्याएर २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो ।

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये पाँच हजार १३३ आवेदकको आवेदन रद्द भएको र २१ लाख ६ हजार ५१६ आवेदकको आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

स्वीकृत योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ८७ हजारले १० कित्ताका दरले सेयर पाएका छन् । १८ लाख १९ हजार ५१६ आवेदकको भने हात रित्तो भएको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी आईएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले यसअघि ओखलढुंगा र रामेछापका आयोजना प्रभावितलाई सेयर निष्कासन गरेको थियो । अब सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब १२ करोड पुग्नेछ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु–४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

आयोजनको अनुमानित लागत १२ अर्ब आठ करोड २८ लाख ४९ हजार १३२ रुपैयाँ छ । आयोजनको प्रतिमेगावाट लागत २३ करोड पाँच लाख अनुमान गरिएको छ ।