डोटीमा बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

डोटीमा बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

डोटी । डोटी जिल्लाका करिब ७६ हजार बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिइने भएको छ । जिल्लाका ४ सय ७६ विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरेर ७६ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाको २ गतेदेखि वैशाख १८ गते सम्म टाइफाइडविरुद्ध देशव्यापी खोप अभियान सञ्चालन गरेको थियो ।

तर, डोटी जिल्लामा तोकिएको समयमा पाँच दिनसम्म जिल्लाव्यापी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय डोटीका खोप संयोजक सूर्य विष्टले जानकारी दिनुभयो । अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ ।

टाइफाइडविरुद्धको खोप राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ । जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइन लागेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लरिमण जोशीले बताउनुभयो ।

टाइफाइडविरुद्धको राष्ट्रिय खोप कार्यक्रमलाई डोटी जिल्लामा प्रभावकारी रूपमा सञ्चालन गर्न जिल्लाका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी तथा योजना तर्जुमा गरिने भएको छ ।

यसै सन्दर्भमा पहिलो चरणमा आयोजना गरिएको दुईदिने जिल्लास्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी शुक्रबारदेखि दिपायलको राजपुरमा शुरू भएको छ । उक्त कार्यक्रममा बोगटान फुड्सिल, सायल, बडीकेदार, पूर्वीचौकी, केआईसिंह गाउँपालिका गरी पाँचवटा स्थानीय तहका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

बाँकी ४ वटा स्थानीय तहका स्वास्थ्यकर्मीका लागि दोस्रो चरणमा कार्यक्रम आयोजना गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा खोप अभियानलाई सफल बनाउनको लागि जिल्लाका अन्य सरोकारवालासँग पनि समन्वय तथा अन्तरक्रिया गरिने स्वाथ्य कार्यालय प्रमुख जोशीले जानकारी दिनुभयो ।