'सुकुम्वासीबाट हुकुम बासी' बनाउन कञ्चनपुरका सुकुम्वासीहरूको माग !

'सुकुम्वासीबाट हुकुम बासी' बनाउन कञ्चनपुरका सुकुम्वासीहरूको माग !

कञ्चनपुर ।  कञ्चनपुरका सुकुम्वासीले आगामी स्थानीय तहको चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन् ।  सुकुम्वासी सङ्घर्ष समिति पुनर्वास १० कञ्चनपुरले आयोजना गरेको आम भेला तथा बहस कार्यक्रममा उनीहरूले पटक पटक स्थानीय तहले आफूहरूलाई ठगेको भन्दै आगामी चुनावमा भोट नदिने समेत बताएका हुन् ।

पटक पटक सुकुम्वासीलाई लालपुर्जा वितरण गर्छु भन्दै स्थानीय सरकारले आश्वासन दिए पनि अहिले सम्म सुकुम्वासीका समस्यामा नगरपालिका मुख दर्शक मात्रै बनेको आरोप लगाएका हुन् । लामो समयदेखि विभिन्न आन्दोलन गर्दै आए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको यहाँका सुकुम्बासीहरुकोे दुखेसो छ ।

हातमा लालपुर्जा नहुँदा बिभिन्न सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपरेको पुनर्वास नगरपालिका वडा नम्बर १० कै सुकुम्वासी भावना खड्काको गुनासो छ ।‘यदि हामीसँग लालपुर्जा हुने हो भने त्यो पुर्जा राखेर हामी बालबच्चाहरूलाई पढाउन सक्थ्यो होला । कुनै उद्योग खोलेर पनि काम गर्न पनि सक्थ्यो उनले भनिन्, ‘अब हाम्रो पुर्जा नै छैन् । ’हामी त सुकुम्वासी भयौ तर हामी पछाडिका पीडितलाई के अझै पनि सुकुम्वासी नै बनाउने हो त । हामीलाई सरकारले जग्गा दिनुपर्‍यो । सुकुम्वासीलाई हुकुमवासी बनाईदिनुपर्यो ।’ अब जसले सुकुम्वासीलाई हुकुमवासी बनाई दिन्छ उसैलाई नै आगामी चुनावमा भोट हाल्ने उनको योजना छ । पटक पटक नेताहरूलाई भोट हाल्ने तर आफूहरूका समस्या भने अथावत रहने भएकाले अब आफूहरूलाई हुकुमवासी बनाएपछि मात्रै आगामी चुनावमा भोट दिने उनले बताइन् ।

सुकुम्वासी संर्घष समिति पुनर्वास नगरपालिका वडा नम्बर १० का संयोजक बल बहादुर विष्टले आगामी वैशाखको पहिलो हप्ता भित्र सुकुमबासीका समस्यामा नगरपालिका अगाडि नबढे आगामी स्थानीय चुनाव बहिष्कार गर्ने लक्ष्य रहेको बताए । 'यदि वैशाखको पहिलो हप्ता भित्र सुकुमबासीका समस्यामा नगरपालिका अगाडी नबढे हामीले आगामी स्थानीय तहको चुनाव बहिष्कार गर्ने लक्ष्य लिएका छौँ । यदि वैशाखको पहिलो हप्तामा नगरपालिकाले सञ्चालन गरिहाले भने हामी उहाँको कार्यमा स्वागत गर्नेछौँ । हामी उहाँप्रतिको दुशमनी होइन । हामीले एउटा प्रक्रियामा प्रति सुकुम्वासीलाई किन आवश्यक ठानेन् । किन सुकुम्वासीको हक हितका लागि बोलेनन् भन्ने आवाज हाम्रो हो ।' उनले भने । 

यस्तै, गौरी देवी साउँदले पनि आगामी चुनावमा जसले आफूहरूलाई लालपुर्जा दिन सक्यौ उसैलाई नै आफूहरू भोट दिने बताइन् । 

पुनर्वासकै अर्का सुकुम्वासी शेर बहादुर बोहराले सुकुम्वासीको नाममा यहाँ राजनीतिक चलखेल भइरहेको बताए । ‘अहिले पुर्नवास नगरपालिकामा सुकुम्वासीको नाममा ठुलो राजनीतिक चलखेल भइरहेको छ,’ उनले भने, ‘एक दिन एक पार्टी आउँछ । हामी पुर्जा दिन्छौ भनेर जान्छ । अनि अर्को दिन पनि अर्को पार्टी आएर फेरि पनि त्यसै आश्वासन दिइरहेको छ । जसका कारण हामी सुकुम्वासीले बर्षौदेखि समस्या भोग्न बाध्य भएका छौँ । यो समस्या अहिलेको होइन बर्षौदेखिको हो र तर स्थानीय सरकार सुकुम्वासीका समस्या बुझ्दैनन् ।’ 

यता सुकुम्वासी संर्घष समिति पुनर्वासका संयोजक जगत सायरले पटक पटक आन्दोलन गर्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेको बताए ।उनले अझै पनि सुकुम्वासीका समस्या गुम्बामै राखियो भने नगरपालिकामा तालाबन्दी समेत गर्ने चेतावनी दिए ।  ‘२०३१ साल देखि नगरपालिकामा बसोबास गर्दै आइरहेका सुकुम्वासीको हक हितका लागि हाम्रो यो आन्दोलन हो । हामीले यस अघि पनि नगरपालिकामा तालाबन्दी गरेका थियौ । ७ बुद्धे ध्यानाकर्षण पनि बुझायौ । तर पनि स्थानीय सरकारले सुकुमबासीका मागहरू एउटा गुम्बामै सीमित गर्‍यो ।’  

उनले सुकुम्वासीका मागहरू सम्बोधन नभए फेरि कडा आन्दोलन उत्रिन बाध्य हुने बताए । अहिले नगरपालिकामा ६ हजार एक सय घर धुरी रहेका छन् । जसमध्ये १५० आरक्ष पीडित, एक सय भूमिहीन र बाकी अव्यवस्थित रहेको संयोजक सायरले बताए  ।