युक्रेनको बुचामा भेटियो ५७ जनाको सामूहिक चिहान

युक्रेनको बुचामा भेटियो  ५७ जनाको सामूहिक चिहान

हालै रूसी सेनाबाट युक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले आइतबार बताएका छन्।

बुचामा उद्धार सेवाका प्रमुखको रूपमा रहेका सेरही काप्लिच्नीले भने, “यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ।” सहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान छ।

जमिनमुनि गाडिएका शवमध्ये करीब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको एएफपीले उल्लेख गरेको छ। सामूहिक चिहानमा भेटिएकामध्ये केही लास कालो जिप भएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए। 

युक्रेनले रुसी सेनाले बुचामा ‘जानाजान नरसंहार’ गरेको आरोप लगाएको छ। युक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट विस्तारै पछि हट्दै गरेको समयमा कीभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाण देखा परेका छन्।  

बुचाको एउटा सडक छेउमा गैर–सैनिक पहिरन लगाएका कम्तीमा २० वटा लास देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ती मृत शरीरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै युक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन्। 

जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धका लागि आह्वान गरेको छ। यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्य’को अनुसन्धानका लागि आह्वान गरेको छ।