दीपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाकाे उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ६९ रनकाे लक्ष्य दिएकाे छ । 

त्रिवि क्रिकेट मैदानमा आज साेमवार टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए ।

यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ खेश २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।

नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अङ्कसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेकाे हाे ।

आजकाे खेलमा ५४ रन बनाएका दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलाे नेपाली खेलाडी बनेका छन् । आजकाे खेलमा सुरुवाती २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् ।

दीपेन्द्रपछि नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेमा पूर्वकप्तान पारस खड्का रहेका छन् । सात सय ९९ रन बनाएका छन् ।