श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरको पनि राजीनामा

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि आज सोमवार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले देशकाे आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको एएफपीले जनाएकाे छ ।

उहाँले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।

देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि जिम्मेवार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् । जिम्मेवार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा पर्नुभएको छ ।

आर्थिक सङ्कटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारका विरुद्धमा प्रदर्शन गर्न थालेपछि राजनीतिक सङ्कट सुरु भएको हो । आन्दोलनकारीले राष्ट्रपति राजापाक्षेको निवास घेर्न थालेपछि सरकारले गएकाे शनिवार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको छ ।